राधिका दासीको उजुरीपछि वेदिका केसी पक्राउ, साइबर ब्युरोले थाले अनुसन्धान


काठमाडौं । सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिका निजी जीवनसँग सम्बन्धित विषयमा भ्रम फैलाएको र लाञ्छनापूर्ण सामग्री प्रकाशित गरेको आरोपमा आफूलाई अभियन्ता बताउने वेदिका केसी पक्राउ परेकी छन्।

नेपाल प्रहरीको साइबर ब्युरोले केसीलाई पक्राउ गरेको हो। साइबर ब्युरोका प्रवक्ता एसपी दिलिप गिरीका अनुसार अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट १ दिनको म्याद थप गरिएको छ।

प्रहरीका अनुसार केसीले पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा राधिका दासीलाई लक्षित गर्दै विभिन्न गम्भीर आरोप सार्वजनिक गर्दै आएकी थिइन्। आफूविरुद्ध कुनै प्रमाणबिना चरित्रहत्या गर्ने उद्देश्यले भ्रामक सामग्री फैलाइएको भन्दै राधिका दासीले साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।

उक्त उजुरीका आधारमा साइबर ब्युरोले केसीलाई पक्राउ गरी विद्युतीय कारोबारसम्बन्धी कानुनी व्यवस्थाअनुसार घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।