काठमाडौं । गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर स्टन्ट गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिवाना गरेको छ।
सिरहा–१ बाट निर्वाचित सांसद गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान पुगेर जरिवाना तिरेका हुन्। जरिवाना बुझाएपछि ट्राफिक प्रहरीले उनलाई जरिवाना रसिदसमेत हस्तान्तरण गरेको छ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा सांसद गुप्ता गुडिरहेको मोटरसाइकलको पछाडि उभिएको देखिएपछि उनको व्यापक आलोचना भएको थियो। यद्यपि, उनीमाथि ५ सय रुपैयाँको मात्रै जरिवाना गरिएको विषयलाई लिएर कतिपयले यो सजाय पर्याप्त नभएको टिप्पणी गरेका छन्।
घटनापछि सांसद गुप्ताले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बाल्यकाल बिताएको ठाउँमा पुगेपछि पुराना सम्झनाले भावुक बनाएको र रमाइलोका क्रममा मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा ट्राफिक नियम उल्लङ्घन भएको महसुस गरेको बताएका छन्।
उनले लेखेका छन्, “अब यही जोश र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दछु।”
सांसद गुप्ताको उक्त अभिव्यक्तिपछि पनि सामाजिक सञ्जालमा उनको व्यवहार, सार्वजनिक पदको जिम्मेवारी र ट्राफिक नियम पालनाबारे बहस जारी रहेको छ।

















प्रतिक्रिया