काठमाडौँ महानगरको सहयोग: ट्रमा सेन्टरमा महानगरवासी र विपन्न बिरामीले अब निःशुल्क अर्थोपेडिक इम्प्लान्ट पाउने


काठमाडौं ।काठमाडौँ महानगरपालिकाले राष्ट्रिय ट्रमा सेन्टरलाई करिब ८० लाख रुपैयाँ बराबरका ११५ प्रकारका अर्थोपेडिक इम्प्लान्ट हस्तान्तरण गरेको छ। यससँगै महानगरवासी, विपन्न तथा बेवारिसे बिरामीले अब ट्रमा सेन्टरबाट निःशुल्क इम्प्लान्ट सुविधा पाउने भएका छन्।

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सेन्टरका निर्देशक डा. रुद्र मरासिनीलाई सामग्री हस्तान्तरण गर्दै यो सहयोग केवल सामग्री हस्तान्तरण नभई विपन्न नागरिकको सहज उपचार सुनिश्चित गर्ने जिम्मेवारीसमेत अस्पताललाई सुम्पिएको बताउनुभयो।

“हाम्रो क्षमताबाट सहायता उपलब्ध गरायौँ, यो सहायता अस्पतालको क्षमतासँग सम्बन्धित जिम्मेवारी हस्तान्तरण पनि हो,” डंगोलले भन्नुभयो।

महानगरपालिकाका अनुसार सार्वजनिक खरिद प्रक्रियामार्फत खरिद गरिएका यी इम्प्लान्टबाट करिब ३०० जना बिरामीले निःशुल्क उपचार प्राप्त गर्न सक्नेछन्। दुर्घटना वा अन्य कारणले हड्डीमा राख्नुपर्ने महँगा इम्प्लान्ट अभावमा उपचारबाट वञ्चित हुने अवस्था हटाउने उद्देश्यले यो सहयोग गरिएको हो।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा. डा. विवेक आचार्यले महानगरसँगको सहकार्यले स्वास्थ्य सेवामा सकारात्मक परिणाम दिएको उल्लेख गर्दै ट्रमा सेन्टरमा प्राप्त सहयोगले थप उत्साह मिलेको बताउनुभयो।

सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले महानगरबाट प्राप्त सामग्रीको प्रयोगबारे सामाजिक परीक्षण र सार्वजनिक सुनुवाइ गरिने तथा सेवा पारदर्शी ढंगले लक्षित वर्गसम्म पुर्‍याइने प्रतिबद्धता जनाउनुभयो। साथै, यस्तो सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो।

नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजालले महानगरपालिकाको सहयोगलाई नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण पहल भएको बताउनुभयो।

महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दिपक कुमार केसीका अनुसार आर्थिक अवस्था कमजोर भएका, बेवारिसे तथा महानगरवासी बिरामीलाई आवश्यक सिफारिसका आधारमा मौज्दात रहेसम्म निःशुल्क इम्प्लान्ट उपलब्ध गराइनेछ।

सम्झौताअनुसार ट्रमा सेन्टरले महानगरपालिकालाई प्रत्येक चार महिनामा इम्प्लान्टको मौज्दात र खर्च विवरणसहितको प्रतिवेदन बुझाउनुपर्नेछ।

राष्ट्रिय ट्रमा सेन्टरमा वार्षिक करिब ७ हजार शल्यक्रिया हुने गरेका छन्। सरकारले विपन्न बिरामीको उपचारका लागि प्रतिव्यक्ति १ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको भए पनि करिब १० प्रतिशत बिरामीका लागि थप स्रोत आवश्यक पर्ने गरेको निर्देशक मरासिनीले जानकारी दिनुभयो।

अर्थोपेडिक इम्प्लान्टको मूल्य २ सय रुपैयाँदेखि १० लाख रुपैयाँसम्म पर्ने र एक बिरामीको उपचारमा औसत २ लाखदेखि २ लाख ५० हजार रुपैयाँसम्म खर्च हुने गरेको सेन्टरले जनाएको छ।

यसैबीच, डा. मरासिनीले ट्रमा सेन्टरमा ब्लड बैंक स्थापनाका लागि पनि महानगरपालिकाको सहयोग आवश्यक रहेको उल्लेख गर्दै त्यसबाट गम्भीर अवस्थाका बिरामीको जीवन बचाउन ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

महानगरपालिकाको यो सहयोगसँगै अब आर्थिक अभावका कारण महानगरवासी वा असहाय बिरामीले अपरेसनमा आवश्यक इम्प्लान्ट किन्न नसकेर उपचार रोक्नुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ।