अनशनरत डा. गोविन्द केसीलाई सेती प्रादेशिक अस्पताल भर्ना


काठमाडौं । तीन दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।

धनगढीको कृष्ण मन्दिर धर्मशालामा बिहीबारदेखि सत्याग्रहमा बसेका डा. केसीलाई चिकित्सकको सल्लाहअनुसार अस्पताल लगिएको हो। स्वास्थ्य परीक्षणका क्रममा उनको रक्तचाप ११०/९० र रगतमा सुगरको मात्रा ५० मापन भएपछि आईसीयूमा राखेर उपचार गर्ने तयारी गरिएको अस्पताल स्रोतले जनाएको छ।

डा. केसीले निजी संस्थासँग आबद्ध व्यक्तिलाई उपकुलपति र रजिस्ट्रारमा नियुक्त गरिएको निर्णय खारेज गर्नुपर्ने लगायत पाँचबुँदे माग राख्दै बिहीबारदेखि अनशन सुरु गरेका हुन्। उनको स्वास्थ्य अवस्थाबारे चिकित्सकको निगरानीमा उपचार भइरहेको छ।