काठमाडौं । उपत्यकाको पश्चिमी प्रवेशद्वारका रूपमा रहेको बहुप्रतीक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको विशेष उपस्थितिमा आयोजित समारोहबीच सुरुङमार्गको उद्घाटन गरिएको हो।
उद्घाटनसँगै सुरुङमार्ग तत्काल सबै प्रकारका सवारीसाधनका लागि खुला भने नगरिने भएको छ। आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुवाती चरणमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारीसाधन तथा अन्य अत्यावश्यक सेवाका सवारीलाई मात्र सञ्चालन अनुमति दिइनेछ।
उनका अनुसार करिब तीन महिनासम्म ‘ट्रायल ओपनिङ पिरियड’ का रूपमा सुरुङमार्गको परीक्षण सञ्चालन गरिनेछ। यस अवधिमा सुरक्षा, ट्राफिक व्यवस्थापन तथा सञ्चालन प्रणालीको विस्तृत मूल्याङ्कनपछि अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा प्रवेश दिइने योजना रहेको छ।
देशकै पहिलो आधुनिक सडक सुरुङमार्गका रूपमा रहेको यस आयोजनाको यात्रा तीन फरक सरकारको कार्यकाल हुँदै सम्पन्न भएको हो। सुरुङमार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए भने मुख्य सुरुङको ‘ब्रेकथ्रु’ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा सम्पन्न भएको थियो। अहिले प्रधानमन्त्री बालेन शाहको कार्यकालमा सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ।
आयोजनाका अनुसार परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कुनै पनि शुल्क नलिइनेछ। नियमित सञ्चालन सुरु भएपछि भने सडक विभागले तोकेको सवारीसाधनको वर्गीकरणअनुसार सुरुङमार्ग प्रयोग शुल्क लागू गरिनेछ। सडक विभागले निर्धारण गरेको शुल्क संरचना भने नियमित सञ्चालन सुरु भएपछि कार्यान्वयनमा आउनेछ।


















प्रतिक्रिया