रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठ


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपसभापति गोपालमान श्रेष्ठको निधन भएको छ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले श्रेष्ठको उपचारका क्रममा आज निधन भएको जानकारी दिएका छन्। लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहेका श्रेष्ठको निधनले नेपाली कांग्रेस तथा नेपालको राजनीतिक वृत्तमा ठूलो क्षति पुगेको छ।

पूर्वउपसभापति समेत रहेका श्रेष्ठ पछिल्लो समय पेटको क्यान्सरबाट पीडित थिए। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनको उपचार भइरहेको थियो। तर चिकित्सकको प्रयासका बाबजुद उनको निधन भएको हो।

श्रेष्ठ नेपाली कांग्रेसका पुराना र प्रभावशाली नेतामध्ये एक मानिन्थे। उनले पार्टी संगठन निर्माण, संसदीय राजनीति तथा विभिन्न राजनीतिक जिम्मेवारीमा रहेर लामो समय योगदान दिएका थिए।

उनको निधनप्रति नेपाली कांग्रेसका नेता–कार्यकर्ता तथा विभिन्न राजनीतिक दलका नेताहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। श्रेष्ठको निधनले नेपाली राजनीतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गरिएको छ।