काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरीलगायत पूर्वी जिल्लामा हालै घटेको संवेदनशील घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले घटनापछि सिर्जिएको तनावपूर्ण अवस्थाप्रति दुःख व्यक्त गर्दै शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरेको छ।
रास्वपाले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ। साथै, घाइते भएका नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
पार्टीले कुनै पनि समस्या वा असन्तुष्टिको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने स्पष्ट गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतामा असर पुग्ने गतिविधिबाट टाढा रहन सबैसँग आग्रह गरेको छ। अफवाह र उत्तेजनाको पछि नलागी संयमता अपनाउन पनि रास्वपाले अपिल गरेको छ।
विज्ञप्तिमा सरकारले तत्काल शान्ति सुरक्षा कायम गर्न, घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न तथा पीडितलाई उचित न्याय, क्षतिपूर्ति र निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने माग गरिएको छ।
रास्वपाले आफू शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा रहेको उल्लेख गर्दै संवादमार्फत समस्याको समाधान खोज्न सकारात्मक भूमिका खेल्न प्रतिबद्ध रहेको जनाएको छ।
साथै, पार्टीले उक्त घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल तथा सरोकारवालासँग आग्रह गर्दै आफ्ना स्थानीय समिति र कार्यकर्तालाई पनि शान्ति र सद्भाव कायम राख्न सहयोगी भूमिका निर्वाह गर्न निर्देशन दिएको छ।



















प्रतिक्रिया