प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको औपचारिक निम्तो


काठमाडौँ। भारतले नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भारत भ्रमणका लागि औपचारिक निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी सार्वजनिक गरेका हुन्।

पत्रकारहरूले प्रधानमन्त्री शाहको भारत भ्रमणबारे सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता जयसवालले औपचारिक निम्तो पठाइसकिएको र भ्रमणका विषयमा दुवै देशबीच आवश्यक समन्वय भइरहेको बताए।

यसअघि पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन शाहलाई पदभार ग्रहण गरेकोमा बधाई दिँदै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए।

प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति र विस्तृत कार्यसूची भने हालसम्म सार्वजनिक गरिएको छैन। भ्रमणका विषयमा दुवै देशका सम्बन्धित निकायबीच आवश्यक तयारी र परामर्श जारी रहेको बताइएको छ।