काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै नागरिकहरूलाई संयम, शान्ति र सामाजिक सद्भाव कायम राख्न भावुक अपिल गर्नुभएको छ।
मंगलबार मध्यराति आफ्नो फेसबुकमार्फत प्रधानमन्त्री शाहले सुनसरी घटनाले आफू प्रधानमन्त्रीका रूपमा मात्र नभई एक नागरिकका रूपमा पनि अत्यन्त दुःखी भएको उल्लेख गर्नुभएको छ। उहाँले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।
प्रधानमन्त्री शाहले पीडित परिवारलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउँदै घटनामा संलग्न दोषीमाथि कानुनबमोजिम कारबाही हुने विश्वास व्यक्त गर्नुभएको छ। सुरक्षाकर्मीको गोलीबाट नागरिकको ज्यान गएको र घाइते भएको विषयलाई पनि सरकारले गम्भीर रूपमा लिएको उल्लेख गर्दै यसबारे अनुसन्धान सुरु भइसकेको जानकारी दिनुभएको छ।
उहाँले सरकारले घटनाको समग्र समीक्षा गरिरहेको र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णय तथा जिम्मेवार कदम चाल्ने बताउनुभएको छ।
प्रधानमन्त्री शाहले नागरिकहरूलाई आक्रोश, उत्तेजना र बदलाको भावनाबाट टाढा रहन आग्रह गर्दै भन्नुभएको छ, “मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु हो। सरकारको पहिलो दायित्व पनि आफ्ना नागरिकको सुरक्षा, दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउनु हो।”
साथै उहाँले सबैलाई प्रेम, सम्मान र सामाजिक सद्भाव कायम राख्दै कुनै पनि उत्तेजक गतिविधिमा सहभागी नहुन आग्रह गर्नुभएको छ।

















प्रतिक्रिया