रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै अनुपस्थित


काठमाडौं – सुनसरी घटनालगायत समसामयिक राष्ट्रिय विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ सहभागी भएका छैनन्।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा जारी बैठकमा सरकारका मुख्य जिम्मेवार नेतृत्व अनुपस्थित रहेपछि त्यसले राजनीतिक रूपमा चासो बढाएको छ।

सुनसरीमा एक जनाको ज्यान जाने गरी भएको घटनापछि सरकारको आलोचना भइरहेको छ भने तराई–मधेशका विभिन्न स्थानमा प्रदर्शनसमेत जारी छ। यही विषयमा साझा धारणा बनाउन बोलाइएको बैठकमा सरकारका प्रमुख प्रतिनिधिहरूको अनुपस्थिति अर्थपूर्ण रूपमा हेरिएको छ।

बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपाका संयोजक प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका आर्यन राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुुस्बु ओली तथा जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत विभिन्न दलका नेताहरू सहभागी छन्।

रास्वपाका महामन्त्री विपिन आचार्यका अनुसार सुनसरीको संवेदनशील घटनापछि सामाजिक सद्भाव, शान्ति–सुरक्षा र राजनीतिक तहबाट साझा सन्देश प्रवाह गर्ने उद्देश्यले सर्वदलीय छलफल आयोजना गरिएको हो।

उनले भने, “अत्यन्तै संवेदनशील र दुःखद घटनाले सिर्जना गरेको असहज परिस्थितिमा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गर्दै सद्भाव र शान्ति–सुरक्षा कायम गर्न प्रशासनिक प्रयाससँगै राजनीतिक रूपमा पनि सामूहिक सन्देश र अपिल आवश्यक भएकाले यो छलफल आयोजना गरेका हौं।”