प्रचण्डको प्रधानमन्त्रीलाई आग्रह : तत्काल सर्वदलीय संवाद सुरु गरौँ


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा देखिएको तनाव समाधानका लागि प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार बोलाएको सर्वदलीय बैठकमा बोल्दै प्रचण्डले संवेदनशील परिस्थितिमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्नुपर्नेमा जोड दिए।

उनको सचिवालयका अनुसार बैठक आयोजना गरेकोमा प्रचण्डले रास्वपा सभापति लामिछानेलाई धन्यवाद दिएका थिए।

‘विगतमा भूकम्प, बाढी–पहिरोजस्ता विपद्का बेला होस् वा संविधान निर्माणजस्तो जटिल प्रक्रियामा, हामीले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेका थियौँ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै सचिवालयले जनाएको छ, ‘आज पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारी आवश्यक छ।’

प्रचण्डले राष्ट्रिय महत्त्वका संवेदनशील विषयमा सरकार साझा समाधानतर्फ अग्रसर हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे। सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्ने उनको भनाइ थियो।

उनले संसद्मा सरकारको प्रस्तुति पनि अपेक्षाअनुसार प्रभावकारी नभएको टिप्पणी गरे।

‘बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन सक्दैन,’ उनले भने, ‘संवाद, सहमति र राजनीतिक समझदारीमार्फत नै परिस्थितिलाई सहज बनाउन सकिन्छ।’

प्रचण्डले आफ्नो पार्टीले सुनसरी घटनाबारे आधिकारिक धारणा सार्वजनिक गरिसकेको र स्थानीय तहमा संयमता तथा सामाजिक सद्भाव कायम राख्न पार्टी पंक्तिलाई आन्तरिक निर्देशनसमेत दिइएको जानकारी दिए।

घटनास्थलमा स्थानीय व्यक्तिसँगै बाहिरबाट वातावरण भड्काउन खोज्ने तत्त्वसमेत सक्रिय हुन सक्ने भएकाले सबै पक्ष उच्च सतर्क रहनुपर्ने उनको भनाइ छ।

‘यो राजनीतिक तिक्तता बढाउने समय होइन, राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय हो,’ उनले भने, ‘घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्छ।’

प्रचण्डले सरकार, राजनीतिक दल तथा सरोकारवाला सबै पक्षलाई सामाजिक सद्भाव, शान्ति र आपसी विश्वासलाई केन्द्रमा राखेर एकताबद्ध रूपमा अघि बढ्न आग्रह गरेका छन्।