काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति माननीय रवि लामिछानेको आह्वानमा आज, मिति २०८३ श्रावण १३ गते सम्पन्न सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लाहरूमा हालै विकसित अत्यन्तै संवेदनशील तथा दुःखद घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गर्दै देहायबमोजिमको संयुक्त वक्तव्य तथा अपिल जारी गरेको छ।
१. समवेदना तथा सहानुभूति
हालैका घटनाक्रममा ज्यान गुमाउनुभएका नागरिकहरूप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।
२. सामाजिक सद्भाव र शान्तिको अपिल
नेपाल विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्वको अनुपम उदाहरण हो। सदियौँदेखि कायम रहेको सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र पारस्परिक भाइचारालाई खल्बल्याउने कुनै पनि गतिविधि वा उत्तेजनामा नपर्न सम्पूर्ण नागरिकमा हार्दिक अपिल गर्दछौं। आवेग, हिंसा र मुठभेडले समस्याको समाधान नभई थप जटिलता निम्त्याउने भएकाले सबै पक्ष संयमित रहन आवश्यक छ।
३. शान्तिपूर्ण संवाद र सहमतिको आह्वान
लोकतान्त्रिक व्यवस्थामा जस्तोसुकै असन्तुष्टि वा विवादको समाधान शान्तिपूर्ण संवाद, सहमति र कानुनी प्रक्रियामार्फत नै सम्भव हुन्छ। त्यसैले आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण तथा जिम्मेवार ढंगले प्रस्तुत गर्न सम्बन्धित सबै पक्षलाई आह्वान गर्दछौं।
४. तल्लो तहमा सर्वदलीय संयन्त्र र बैठकको आह्वान
समाजमा दिगो शान्ति र सद्भाव कायम राख्न केन्द्रको प्रयास मात्र पर्याप्त हुँदैन। त्यसैले प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई समुदायस्तरसम्म विस्तार गर्न र नागरिकबीच विश्वासको वातावरण निर्माण गर्न सबै राजनीतिक दलका सम्बन्धित तहका समितिहरूलाई आग्रह गर्दछौं। स्थानीय प्रशासन, धार्मिक अगुवा, नागरिक समाज तथा समुदायका प्रतिनिधिहरूसँग समन्वय गरी शान्ति कायम राख्न सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउँछौं।
५. केन्द्रीय तहबाट समन्वय र नेतृत्वदायी भूमिका
यस्ता संवेदनशील र दुःखद घटनाहरू भविष्यमा देशका कुनै पनि भूभागमा दोहोरिन नदिन राजनीतिक दलहरूको केन्द्रीय तह गम्भीर र जिम्मेवार रहेको स्पष्ट गर्दछौं। आवश्यक समन्वय, पहल, अनुगमन र नेतृत्वदायी भूमिका निरन्तर निर्वाह गर्न हामी प्रतिबद्ध छौं।
६. अफवाह नियन्त्रण र सामाजिक सञ्जालको जिम्मेवार प्रयोग
संवेदनशील परिस्थितिमा सामाजिक सञ्जाल तथा अन्य सञ्चार माध्यमबाट फैलिन सक्ने भ्रामक सूचना, घृणास्पद अभिव्यक्ति र अफवाहले सामाजिक सद्भावमा गम्भीर असर पार्न सक्छ। त्यसैले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न सम्पूर्ण नागरिकमा अनुरोध गर्दै सञ्चारमाध्यमहरूलाई पनि तथ्यपरक, सन्तुलित र जिम्मेवार समाचार सम्प्रेषण गर्न आग्रह गर्दछौं।
७. नेपाल सरकारको ध्यानाकर्षण
नागरिकको जिउधनको सुरक्षा गर्नु राज्यको प्रमुख दायित्व हो। परिस्थितिलाई अधिकतम संयमता अपनाई सामान्य बनाउन, घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीउपर कानुनबमोजिम कारबाही गर्न तथा पीडित पक्षलाई उचित राहत, क्षतिपूर्ति र आवश्यक सहयोग उपलब्ध गराउन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौं।
अन्त्यमा,
राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्तिको संरक्षणका लागि उपस्थित सम्पूर्ण राजनीतिक दलहरू एकताबद्ध रहेको सन्देश प्रवाह गर्दै, उत्पन्न समस्याको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकार, नागरिक समाज तथा सम्पूर्ण समुदायसँग आवश्यक समन्वय र सहयोग गर्न हामी दृढ संकल्प व्यक्त गर्दछौं।




















प्रतिक्रिया