काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग भेटवार्ता गरेपछि उहाँ सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जतर्फ प्रस्थान गर्न लाग्नुभएको हो।
प्रधानमन्त्रीको कार्यालयका अनुसार गृहमन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा ज्यान गुमाएका ओमप्रकाश मेहताका परिवारसँग भेट गर्ने कार्यक्रम छ। साथै, सोही घटनामा घाइते भई उपचारका क्रममा आज निधन भएका जयप्रकाश मेहताका परिवारसँग पनि उहाँले भेटघाट गर्ने कार्यक्रम रहेको छ।
गृहमन्त्री गुरुङसँगै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता पनि सुनसरी जाने कार्यक्रम छ। मन्त्री मेहताको गृह जिल्ला पनि सुनसरी नै हो।
सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपमा दुई जनाको मृत्यु भएपछि त्यहाँको सुरक्षा अवस्था, पीडित परिवारको अवस्था तथा शान्ति–सुरक्षाको समग्र स्थितिबारे स्थलगत जानकारी लिन सरकारको उच्चस्तरीय टोली त्यसतर्फ गएको जनाइएको छ।


















प्रतिक्रिया