‘हिमालले शरीर रोक्यो, इतिहास होइन’ : निर्मल पुर्जाप्रति प्रधानमन्त्री बालेनको भावुक श्रद्धाञ्जली


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोमा परी विश्वकीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीको निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले आरोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको उल्लेख गरेका छन्।

उनले हिमालले धेरैलाई शिखरको गौरव दिलाउने भए पनि कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राख्ने भन्दै, हिमाल आरोहीहरू आफ्नो साहस, समर्पण र योगदानका कारण इतिहासमा सधैँ अमर रहने बताएका छन्।

प्रधानमन्त्री शाहले विश्वकीर्तिमानी आरोही निर्मल पुर्जालगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा टुंगिए पनि उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणादायी र जीवित रहने उल्लेख गरेका छन्।

उनले सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।