गोरखामा पहिरोले तीनतले पक्की घर बगायो, एक जना घाइते


गोरखा । अविरल वर्षापछि आएको पहिरोले गोरखा नगरपालिका–९ लक्ष्मीबजार दिवामार्गमा एक तीनतले पक्की घर बगाउँदा पूर्ण रूपमा ध्वस्त भएको छ। घटनामा एक जना घाइते भएका छन् भने नजिकै रहेको अर्को एक पक्की घरमा आंशिक क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार स्थानीय मानसिंह गुरुङको तीनतले पक्की घर आइतबार बिहान पहिरोले जगबाटै बगाउँदा करिब २० मिटर तल खसेर पूर्ण रूपमा ध्वस्त भएको हो।

पहिरोका बेला घरभित्र रहेका रौतहटको कटहरिया नगरपालिका–७ निवासी ५८ वर्षीय टोखान महतो घाइते भएका छन्। उनलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गोरखा पठाइएको प्रहरीले जनाएको छ।

घटनामा नजिकै रहेको अर्को पक्की घरमा पनि आंशिक क्षति पुगेको छ। प्रहरीका अनुसार घटनास्थलमा सुरक्षा टोली खटिएर थप क्षतिको विवरण संकलन तथा आवश्यक अनुसन्धान भइरहेको छ।

वर्षायामसँगै पहिरोको जोखिम बढेकाले पहिरो प्रभावित तथा भिरालो क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।