काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले मधेशमा हुने आन्दोलनका क्रममा बारम्बार गोली चलाइने गरेको भन्दै सरकारसँग जवाफ मागेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आन्दोलन नियन्त्रणका लागि प्रहरीलाई गोलीभन्दा लाठी र अश्रुग्यासजस्ता वैकल्पिक साधनको पर्याप्त व्यवस्था गर्नुपर्ने धारणा राखे।
‘मेरो प्रश्न राज्यसँग छ, मधेशमा जहिले पनि केही समुदायको आन्दोलन हुँदा गोली मात्रै किन चल्छ ? लाठी किन चल्दैन ? टियरग्यास किन चल्दैन ?’ उनले भने, ‘प्रहरीलाई कसैले ढुंगा हान्यो भने उसले गोली हान्छ, किनकि उसलाई टियरग्यास र लाठी पर्याप्त रूपमा दिइएको छैन।’
सांसद सिंहले मधेशलाई पछाडि पार्ने, गरिब बनाउने र सामान्य घटना हुनासाथ गोली चलाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए।
उनले सरकारसँग प्रहरीका लागि अश्रुग्यास र लाठीजस्ता भीड नियन्त्रणका साधनको पर्याप्त व्यवस्था गर्न आग्रह गर्दै भने, ‘मधेशलाई पछाडि पार्ने, गरिब बनाउने र केही भयो भने गोली ठोक्ने प्रवृत्ति अन्त्य हुनुपर्छ। मधेशले धेरै सहन सक्दैन।’
सांसद सिंहको अभिव्यक्ति सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका पछिल्ला घटनापछि संसदमा उठेका सुरक्षा र भीड नियन्त्रणसम्बन्धी बहसका क्रममा आएको हो।



















प्रतिक्रिया