पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग, अख्तियारले ३ अर्ब ६२ करोड बिगो दाबी


काठमाडौं – पोखरा विमानस्थलसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग विशेष अदालतले १५ लाख रुपैयाँ धरौटी माग गरेको छ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बयानपछि कार्कीसँग धरौटी माग गर्ने आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीविरुद्ध ३ अर्ब ६२ करोड ५ लाख रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो।

ठेकेदार कम्पनीलाई गैरकानुनी रूपमा कर छुट दिएको आरोपमा अख्तियारले गत वैशाख २४ गते १३ जना व्यक्ति तथा ठेकेदार कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

मुद्दा दायर भएको करिब चार महिनापछि पूर्वअर्थमन्त्री कार्की विशेष अदालतमा उपस्थित भएका थिए। बयानपछि अदालतले उनलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो।