हर्कराज राईले ‘कोर्रा हान्ने’ भनेपछि इन्दिरा रानाको आपत्ति, रेकर्डबाट हटाउन माग


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रयोग गरेको ‘कोर्रा हान्ने’ शब्दप्रति आपत्ति जनाएकी छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद रानाले यस्ता अमानवीय र क्रूर शब्दको प्रयोग लोकतन्त्र र मानव अधिकारको मर्मविपरीत हुने बताइन्।

उनले आफू लामो समयदेखि बालबालिका तथा कैदीबन्दीको हकहितका लागि काम गर्दै आएको स्मरण गराउँदै मानिसलाई यातना दिने र कोर्रा लगाउने कार्यविरुद्ध कानुनी व्यवस्था गर्न आफूले वकालत गरेको बताइन्।

नेपालमा वर्षौँको प्रयासपछि शारीरिक यातनालाई निषेध गर्ने कानुन बनेको अवस्थामा संसद्मा पुनः यस्ता शब्द सुन्नु दुःखद भएको उनको भनाइ थियो।

अपराध जोसुकैले गरेको भए पनि नागरिकलाई ‘कोर्रा हान्ने’ भन्नु उचित नहुने रानाले बताइन्। गरिमामय संसद्मा यस्तो शब्द प्रयोग गर्नु शोभनीय नभएको भन्दै उनले सभामुखसँग उक्त शब्द संसद्को आधिकारिक रेकर्डबाट हटाउन आग्रह गरिन्।

यसअघि सांसद हर्कराज राईले गलत काम गर्ने व्यक्तिलाई ‘कोर्रा हान्नुपर्ने’ धारणा व्यक्त गरेका थिए। राईको यही अभिव्यक्तिप्रति रानाले संसद्मै आपत्ति जनाएकी हुन्।