काठमाडौं ।सरकारले सुनसरी र सिरहामा भएका प्रदर्शन तथा झडपका क्रममा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्रकुमार मेहता र सिरहाका गणेशकुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
साउन ९ गते राति देवानगञ्ज–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपका क्रममा ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घाइते भएका जयप्रकाश मेहताको उपचारका क्रममा विराटनगरमा तथा रवीन्द्रकुमार मेहताको काठमाडौंस्थित शिक्षण अस्पतालमा मृत्यु भएको थियो।
देवानगञ्ज घटनापछि भड्किएको हिंसाका क्रममा सिरहाको गोलबजारमा भएको प्रदर्शनमा गणेशकुमार यादवको पनि मृत्यु भएको थियो।
यसअघि गृहमन्त्री सुधन गुरुङले मृतकका परिवारसँग राहत तथा क्षतिपूर्तिलगायतका विषयमा सहमति गरेका थिए। सरकारले चारै जनालाई शहीद घोषणा गर्दै परिवारलाई राहत तथा क्षतिपूर्तिको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।





















प्रतिक्रिया