फेरि विद्युतीय एम्बुलेन्स र शव वाहनमा भ्याट हट्यो


काठमाडौं – सरकारले विद्युतीय एम्बुलेन्स र शव वाहनमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) तथा स्वच्छ पूर्वाधार लगानी शुल्क पूर्ण रूपमा हटाउने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स तथा शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन्।

चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले विद्युतीय सवारीसाधनमा लाग्ने अन्तःशुल्क हटाएर स्वच्छ पूर्वाधार लगानी शुल्क लागू गरेको थियो। मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै विद्युतीय एम्बुलेन्स र शव वाहनमा भने उक्त शुल्क तथा भ्याट नलाग्ने भएको छ।