काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदैछन् । हङकङबाट देउवा आज नेपाल आइपुग्न लागेका हुन् ।जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा घाइते भएपछि उपचारका लागि सिंगापुर पुगेका देउवा त्यसपछि हङकङ पुगेका थिए । देउवा स्वदेश फर्किन लागेसँगै कांग्रेसको इतर पक्षले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको भव्य स्वागतको तयारी गरेको छ ।
देउवालाई स्वागत गर्न कांग्रेसका सयौं नेता तथा कार्यकर्ता आज बिहान १० बजेदेखि विमानस्थलमा भेला हुने तयारीमा छन् । विमानस्थलमा सात हजारभन्दा बढी नेता तथा कार्यकर्ताले स्वागत गर्ने योजना रहेको कांग्रेसले जनाएको छ । यसका लागि देउवाको गृह जिल्लालगायत विभिन्न ठाउँबाट नेता तथा कार्यकर्ता काठमाडौं आइपुगेका छन् ।
राष्ट्रिय भेला आयोजक समितिका प्रचारप्रसार संयोजक मीन विश्वकर्माका अनुसार देउवाको स्वागतका लागि ३२ वटै आयोजक समितिले आवश्यक व्यवस्थापनको काम गरिरहेका छन् । विशेषगरी तरुण दल र विद्यार्थी संगठन परिचालन समितिले स्वागत कार्यक्रमको संयोजन गरिरहेका छन् ।
यस्तै, सांस्कृतिक समितिले विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति समेत गर्ने तयारी गरेको छ । देउवा दम्पती सिंगापुरमा रहेका बेला उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी रोक्न माग गर्दै देउवा वारेसमार्फत सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतले देउवा दम्पतीलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
देउवा आज दिउँसो १२ बजेर २५ मिनेटमा थाइ एयरलाइन्सको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ ।





















प्रतिक्रिया