जनकपुरधाम । धनुषा जिल्ला अदालतले दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर चार करोड रुपैयाँ ठगी गरेको आरोपमा एकै परिवारका तीन जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ।
कारागार चलान हुनेमा जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरका ५३ वर्षीय गोपाल साह, उनकी ४८ वर्षीया श्रीमती रेखा साह र ३२ वर्षीय छोरा हरेराम साह रहेका छन्।
धनुषाका विभिन्न व्यक्तिले दिएको अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले उनीहरूलाई साउन १ गते पक्राउ गरेको थियो।
मुद्दामा धनुषा जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश हिरामाया अवालको इजलासले तीनै जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी हेमकुमार महतोले जानकारी दिए।
महतोका अनुसार उनीहरूमाथि परेको नौवटा मुद्दामध्ये छवटा मुद्दामा बहस सकिएपछि तीनै जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको हो। बाँकी तीनवटा मुद्दामा भने शुक्रबार पनि सुनुवाइ भइरहेको छ।
अदालतको आदेशपछि गोपाल साह र उनका छोरा हरेरामलाई महोत्तरी कारागार तथा रेखा साहलाई सिन्धुली कारागार पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।





















प्रतिक्रिया