काठमाडौं। चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एक जना व्यक्ति तथा एक वटा जर्सी गाई घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार बिहान करिब ६ः४० बजे चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा प्रवेश गरेको बाघले राप्ती नगरपालिका–१ निवासी ६० वर्षीय ठाकुर अधिकारीलाई आक्रमण गर्दा उनी सामान्य घाइते भएका हुन्। घाइते अधिकारीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ। उक्त बाघले सोही स्थान निवासी दिला कुमारी तामाङको गोठमा रहेको जर्सी गाईलाई समेत आक्रमण गरी घाइते बनाएको थियाे । बस्तीमा पसेकाे बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति सरक्षण काेषका कर्मचारी प्राबिधिकहरूले हात्तीकाे सहितको टोली खटिएको थियो। उक्त टाेलीले उक्त बाघलाई करीब साढे ११बजे बाघलाई सफलतापूर्वक नियन्त्रणमा लिइएको थियाे । नियन्त्रणमा लिइएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको छ। पछिल्लो समय चितवनको मध्यवर्ती तथा बस्ती नजिकका क्षेत्रमा बाघ देखिने र मानव–वन्यजन्तु द्वन्द्वका घटना बढ्दै गएको भन्दै स्थानीयवासीले सुरक्षा व्यवस्थापनमा थप ध्यान दिन सम्बन्धित निकायसँग माग गरेका छन्।
Compose
Write to Saroj Giri





















प्रतिक्रिया