जाजरकोटको रिसाङमा पहिरो : ८ घाइतेको उद्धार, ४ जनाको शव निकालियो


जाजरकोट । जाजरकोट जिल्लास्थित रिसाङ आसपासका क्षेत्रमा गएको पहिरोमा परी प्रभावित भएकाहरूको खोज तथा उद्धार कार्य जारी छ।

पहिरोपीडितको खोज तथा उद्धारका लागि भवानीदल गणबाट साउन ३० गते साँझदेखि परिचालन भएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयवासीसँगको सहकार्यमा ८ जना घाइतेको उद्धार गरेको छ।

उद्धार टोलीले पहिरोमा परी मृत्यु भएका ४ जनाको शवसमेत निकालिएको जनाएको छ। त्यस्तै, पहिरोका कारण जोखिममा रहेका करिब ३०० स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

सुरक्षा निकाय तथा स्थानीयवासीको सहकार्यमा जोखिमयुक्त क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।