रास्वपा सांसदमाथि कडा निगरानी, विदेश भ्रमणमा समेत कडाइ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई संसद् बैठकमा थप जवाफदेही बनाउन गुगल फर्ममार्फत उपस्थिति निगरानी गर्ने व्यवस्था गरेको छ ।

रास्वपाका सांसदले संसद् बैठकमा अनुपस्थित हुनुपरेमा, ३० मिनेटभन्दा ढिलो उपस्थित भएमा, बैठक बीचमै छाडेमा वा बाहिर गएर पुनः फर्किनुपरेमा अनिवार्य रूपमा आवेदन फाराम भर्नुपर्नेछ ।

फाराममा सांसदको नाम, निर्वाचन क्षेत्र, सम्पर्क नम्बर, अनुपस्थित वा बाहिरिनुको कारण तथा आवश्यक प्रमाणसमेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । बिरामी हुँदा उपचारस्थलको विवरण, निर्वाचन क्षेत्र जाँदा जाने–आउने तालिका तथा विदेश भ्रमणमा आयोजक संस्था, कार्यक्रम र सम्बन्धित निकायको अनुमति समेत खुलाउनुपर्नेछ ।

रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार यो व्यवस्था संसद् बैठकलाई व्यवस्थित र प्रभावकारी बनाउँदै सांसदको उपस्थिति तथा गतिविधिमा जवाफदेहिता बढाउने उद्देश्यले गरिएको हो ।

२६ साउनको प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको घटनापछि रास्वपाले सांसदको उपस्थिति व्यवस्थापनमा थप कडाइ गरेको हो । उक्त बैठकमा आवश्यक ६९ सांसदको गणपूरक संख्या समेत नपुगेपछि खानीसम्बन्धी विधेयक अघि बढाउने प्रक्रिया रोकिएको थियो ।

रास्वपाकी सचेतक क्रान्तिशिखा धितालका अनुसार सांसदको हाजिरीलाई औपचारिकतामा सीमित नराखी जिम्मेवारी र जवाफदेहितासँग जोड्ने गरी विवरण एकीकृत गर्न गुगल फर्म प्रयोगमा ल्याइएको हो ।