काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा नेपाल–भारतबीचको आपसी सम्बन्ध तथा दुई देशका सेनाबीचको सहकार्यका विषयमा छलफल भएको जनाइएको छ। भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसमेत सहभागी हुनुहुन्थ्यो।
प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा स्थल सेनाध्यक्ष सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुग्नुभएको थियो।
भ्रमणका क्रममा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको थियो। नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने परम्परा रहँदै आएको छ।
सोमबार नै प्रधान सेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटमा दुई देशका सेनाबीचको पारस्परिक सहयोग, सहकार्य तथा सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ।






















प्रतिक्रिया