गीतको मजाक गरेपछि गुओ देगाङ फन्दामा, चिनियाँ हास्यकलाकारमाथि छानबिन


बेइजिङ । प्रसिद्ध क्रान्तिकारी गीतलाई मजाकिया शैलीमा परिवर्तन गरेर प्रस्तुत गरेको आरोपमा चीनका चर्चित हास्यकलाकार गुओ देगाङमाथि अनुसन्धान सुरु भएको छ। अनुसन्धानपछि उनका केही कार्यक्रमसमेत रद्द गरिएको छ।

जुलाईको अन्त्यमा वुहानमा आयोजित कार्यक्रममा गुओले ‘प्लेइङ माई बिलोभ्ड पिपा’ गीतका मूल शब्द परिवर्तन गरी प्रस्तुत गरेका थिए। त्यसपछि एक व्यक्तिले वुहान संस्कृति तथा पर्यटन ब्युरोमा उजुरी गरेका थिए।

ब्युरोका अनुसार गुओले कार्यक्रममा थपेका शब्द पूर्वस्वीकृत सामग्रीमा नरहेको पाइएपछि व्यावसायिक प्रदर्शनसम्बन्धी नियम उल्लङ्घन गरेको आशंकामा अनुसन्धान अघि बढाइएको हो।

अनुसन्धान सुरु भएपछि सियानमा तय भएको उनको एउटा कार्यक्रम रद्द गरिएको छ। घटनाले चीनमा कलाकारको अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक संवेदनशीलताबीचको सीमाबारे बहससमेत चर्काएको छ।