किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको कलेजो प्रत्यारोपण सफल


ललितपुर । इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा पाँच वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरिएको छ। किष्ट प्रत्यारोपण केन्द्रले भदौ २ गते ३३ वर्षीया आमाबाट छोरीमा जीवित दाता कलेजो प्रत्यारोपण गरेको अस्पतालका प्रबन्ध निर्देशक डा. अविषेक थापाले जानकारी दिए।

विल्सन रोगका कारण गम्भीर अवस्थामा पुगेकी बालिकालाई करिब एक महिनाको विशेषज्ञ उपचार, सघन निगरानी र स्वास्थ्य अवस्था स्थिर बनाएपछि प्रत्यारोपण गरिएको हो।

आमाले आफ्नो कलेजोको एक अंश छोरीलाई दान गरेकी थिइन्। प्रत्यारोपण सफल भएपछि आमा र छोरी दुवैको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको अस्पतालले जनाएको छ।

अस्पतालका अध्यक्ष इ. आशिष थापाले नेपालकै निजी अस्पतालमा बाल कलेजो प्रत्यारोपण सफल हुनु महत्वपूर्ण उपलब्धि भएको बताए। उनले दक्ष जनशक्ति, अत्याधुनिक प्रविधि र पूर्वाधार विस्तार गर्दै जटिल उपचार सेवा नेपालमै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

किष्टका अनुसार बाल कलेजो प्रत्यारोपणका लागि प्रत्यारोपण शल्यचिकित्सक, कलेजो रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, एनेस्थेसिया तथा सघन उपचार टोलीसहित विभिन्न विशेषज्ञको समन्वय आवश्यक हुन्छ। सफल प्रत्यारोपणसँगै अस्पतालले आगामी दिनमा बालबालिकाका लागि बहुविशेषज्ञ उपचार सेवा विस्तार गर्ने जनाएको छ।