काठमाडौँ । चार वर्षदेखि रोगले थलिएका ६ वर्षीय पर्वत परियारका लागि नेपाली कांग्रेसका नेता तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनील शर्मा यतिबेला भगवान् बनेर उभिएका छन्। उपचार त टाढाको कुरा, छोरालाई सुर्खेतसम्म पुर्याउने खर्चसमेत नभएको कालिकोटको एउटा विपन्न परिवारका लागि शर्माले उपचारको ढोका मात्र खोलेनन्, काठमाडौंसम्म ल्याउने खर्चदेखि अस्पतालमा खाने र उपचारको सम्पूर्ण जिम्मेवारीसमेत लिए।
कालिकोटको खाँडाचक्र नगरपालिका–२ का पर्वत पाइल्सको समस्याबाट चार वर्षदेखि पीडित छन्। जिल्ला अस्पतालमा उपचार गराउँदा अवस्था गम्भीर रहेको र क्यान्सरको आशंकासमेत गरिएको भन्दै थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान चिकित्सकले सुझाए। तर, अपांगता भएका बुबा सेरे दमाई र गिट्टी कुटेर परिवार पाल्ने आमा पार्वतीसँग छोरालाई सुर्खेतसम्म लैजाने खर्चसमेत थिएन।
यही अवस्थाको जानकारी शर्मालाई उनका मीत तथा बाल्यकालदेखिका साथी प्रेम शाहीले गराएका थिए। प्रेमबाट पर्वतको अवस्था थाहा पाएपछि शर्माले आफैं सेरे र पार्वतीसँग भिडियो कलमा कुरा गरे। उनले परिवारको आर्थिक अवस्था, छोराको रोग, बस्ने घरदेखि खाने अवस्थासम्म सबै जानकारी लिए। कुराकानीकै क्रममा शर्माले सेरेको पानी चुहिने घरसमेत भिडियोमै हेरे।
सेरेसँग कुरा गर्दै शर्माले आफ्नै बाल्यकाल सम्झिए। मान्मको स्कुलबाट आफूले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेको, आफू पहिलो र आफ्ना मीत प्रेम शाही दोस्रो भएको सुनाए। आफूले पढेको त्यही स्कुलको नयाँ भवन निर्माण गरिदिने चाहनासमेत व्यक्त गरे। पार्वतीको माइती लालु भएको थाहा पाएपछि त्यहाँसँग जोडिएको आफ्नो पुरानो स्मृतिसमेत सुनाए। केहीबेरको कुराकानीले उपचारका लागि सहारा खोजिरहेको परिवारलाई आफ्नै मान्छेसँग कुरा गरेजस्तो आत्मीय अनुभूति भयो।
तर, पर्वतलाई तत्काल उपचार आवश्यक थियो। चार वर्षदेखि बिरामी हुँदा पनि आर्थिक अभावका कारण उपचार हुन नसकेको थाहा पाएपछि शर्माले अब ढिला नगरी काठमाडौं आउन आग्रह गरे।
“उपचार निःशुल्क हुन्छ, खाना पनि अस्पतालमै व्यवस्था हुन्छ,” शर्माले परिवारलाई भने। काठमाडौं मेडिकल कलेजमा भर्ना भएदेखि उपचार पूरा नहुँदासम्म आवश्यक उपचार निःशुल्क गर्ने र पर्वतसँगै उनका बाबुआमालाई बिहान, दिउँसो र बेलुकाको खाना उपलब्ध गराउने व्यवस्था मिलाउने उनले बताए। क्यान्सर पुष्टि भए थप उपचारका लागि विराटनगर पठाउनुपर्ने अवस्था आए त्यहाँ बस्ने व्यवस्थासमेत मिलाइदिने आश्वासन दिए।
तर परिवारसँग काठमाडौं आउने भाडासमेत थिएन। पार्वतीले त्यो कुरा बताएपछि शर्माले यात्राखर्चसमेत आफैं व्यहोर्ने बताए। अर्को सानो छोरा कहाँ छाड्ने भन्ने समस्या पनि रहेको थाहा पाएपछि आवश्यक व्यवस्थासमेत मिलाइदिने बताए।
“हामी पढेलेखेका छैनौं, काठमाडौं आएपछि के गर्ने?” परिवारको चिन्तामा शर्माको जवाफ थियो, “तपाईंहरूले केही पनि गर्नुपर्दैन, आउनुहोस्, बाँकी सबै हामी गर्छौं।”
त्यसपछि सेरे र पार्वती आफ्ना दुई छोरासहित पर्वतलाई लिएर मान्मबाट सुर्खेत हुँदै काठमाडौं लागे। दुई दिनको कठिन यात्रापछि काठमाडौं आइपुग्नेबित्तिकै शर्माको निर्देशनमा काठमाडौं मेडिकल कलेजको एम्बुलेन्स उनीहरूलाई लिन पुग्यो।
पहिलोपटक काठमाडौं आएका सेरे र पार्वतीलाई भेट्न शर्मा आफैं पुगे। यात्रामा कुनै समस्या भयो कि भएन भनेर सोधे, परिवारको अवस्था बुझे र पर्वतलाई आफैं अस्पताल लिएर गए। त्यसपछि काठमाडौं मेडिकल कलेजको आकस्मिक कक्षमा पर्वतलाई भर्ना गरियो।
शर्माले चिकित्सकहरूलाई आवश्यक सम्पूर्ण जाँच तथा उपचार तत्काल सुरु गर्न निर्देशन दिए। उपचार सुरु भएपछि उनले परिवारलाई पर्वतको उपचार पूरा गरेर टुंगोमा पुर्याउने भरोसा दिलाए।
पर्वतको वास्तविक रोग र उपचारको अवस्था आवश्यक जाँचपछि चिकित्सकहरूले टुंगो लगाउनेछन्। तर, चार वर्षदेखि उपचारको अभावमा पीडा सहिरहेको बालकका लागि अहिले सबैभन्दा ठूलो कुरा उपचार सुरु हुनु हो। हिजोसम्म छोरालाई अस्पतालसम्म लैजानसमेत पैसा नभएको परिवार आज काठमाडौं मेडिकल कलेजको उपचार कक्षमा छ। सेरे र पार्वतीका आँखामा छोरालाई बचाउने आशा फेरि फर्किएको छ।
पर्वतको अवस्थाबारे पत्रकार पुष्प भट्टराईले उनका मीत प्रेम शाहीलाई जानकारी गराएका थिए। शाहीले आफ्ना मीत सुनील शर्मासम्म त्यो खबर पुर्याए। शर्माले गम्भीरतापूर्वक सुने। त्यसपछि भिडियो कल गरे, परिवारसँग कुरा गरे, काठमाडौं ल्याउने यात्राखर्चको व्यवस्था गरे, एम्बुलेन्स पठाए, अस्पतालमा भर्ना गराए र चिकित्सकहरूलाई उपचार तत्काल सुरु गर्न निर्देशन दिए।
यसरी एउटा खबरले सुरु भएको यात्रा अहिले उपचारको ढोकासम्म आइपुगेको छ। चार वर्षदेखि रोगसँग लडिरहेका पर्वतको उपचार सुरु भएको छ—र उपचारसँगै उनको परिवारमा जीवनको नयाँ आशा पनि जागेको छ।
गरिबीका कारण उपचारबाट वञ्चित एक बालकका लागि शर्माले देखाएको यो सहयोग मानवता र सामाजिक उत्तरदायित्वको एउटा उदाहरण बनेको छ।






















प्रतिक्रिया