काठमाडौं । काठमाडौं महानगरपालिका–१६ वनस्थलीमा डेराकोठा गरी बस्ने एक व्यक्तिको कोठाबाट सुनका गरगहना तथा नगद चोरी गरी फरार रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साउन १४ गते बिहान करिब ७ः३० बजे चोरी भएको सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले चोरी, चोरीका सामान बिक्री तथा खरिदमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२३ का ४५ वर्षीय विनोद शाक्य, सुनसरी बराहक्षेत्र नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने २२ वर्षीय सुविन घिमिरे, मकवानपुर बागमती गाउँपालिका–८ घर भई काठमाडौं बागबजार बस्ने २६ वर्षीय सुजन विक, काभ्रेपलाञ्चोक बनेपा घर भई काठमाडौं चाबहिल बस्ने २६ वर्षीय संजय तामाङ, काठमाडौं महानगरपालिका–१५ बस्ने ३५ वर्षीय रवि महर्जन र सोही स्थानका ३६ वर्षीय रविन महर्जन रहेका छन्।
प्रहरीका अनुसार विनोद शाक्य चोरीको सुन खरिद गर्ने सुनचाँदी पसल सञ्चालक, सुविन घिमिरे, सुजन विक, संजय तामाङ र रविन महर्जन चोरीमा तथा रवि महर्जन चोरीका सामानको बेचबिखनमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले उनीहरूको साथबाट सुनको जस्तो देखिने सेतो मोती माला, हसुली माला, मोतीको माला जडित लकेट, सुनको खुकुरी कोट पिन, तीन गेँडी हरियो माला, मंगलसूत्र, तिलहरी माला, सोते गेँडी माला, लक्ष्मी माला, सोली माला, सि माला, नेकलेस, नवरत्न माला, रातो मंगलसूत्र, गोली औँठी, चन्द्रमा र बक्स औँठीलगायतका गरगहना बरामद गरेको जनाएको छ।
पक्राउ परेकाविरुद्ध चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनामा संलग्नमध्ये रविन महर्जन र संजय तामाङ लागूऔषध तथा चोरीसम्बन्धी मुद्दामा पक्राउ परी प्रहरी वृत्त स्वयंभूको हिरासतमा रहेका छन्। यस्तै, सुविन घिमिरे र सुजन विक अभद्र व्यवहारसम्बन्धी कसुरमा प्रहरी वृत्त बालाजुको हिरासतमा रहेको जनाइएको छ।






















प्रतिक्रिया