नयाँ आर्थिक वर्षको सुरुवातमै वैदेशिक व्यापारमा उत्साह


काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको वैदेशिक व्यापारमा उल्लेख्य सुधार देखिएको छ । भन्सार विभागका अनुसार निर्यात ६१.७२ प्रतिशतले बढेर ३८ अर्ब ७० करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

गत वर्ष साउनमा २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो । यसैगरी, आयात ३१.०४ प्रतिशतले बढेर १ खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।

आयात बढेसँगै साउनमा व्यापार घाटा २४.८८ प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ पुगेको छ । कुल वैदेशिक व्यापार भने ३५.४४ प्रतिशतले बढेर २ खर्ब २६ अर्ब १४ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

यद्यपि, निर्यातको वृद्धि आयातभन्दा उच्च हुँदा आयात–निर्यात अनुपातमा सुधार आएको छ । गत वर्ष १ रुपैयाँको निर्यात बराबर ५.९८ रुपैयाँको आयात हुने गरेकोमा यस वर्ष घटेर ४.८४ रुपैयाँ कायम भएको छ ।

कुल व्यापारमा निर्यातको हिस्सा पनि १४.३३ प्रतिशतबाट बढेर १७.११ प्रतिशत पुगेको भन्सार विभागले जनाएको छ ।