रुकुम पश्चिम । सानीभेरी गाउँपालिका–८, एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ ।
सिम्लीबाट चौरजहारीतर्फ जाँदै गरेको विद्युतीय सवारीसाधनले मुसिकोट खलङ्गाबाट सुर्खेततर्फ जाँदै गरेको गाडीलाई आज बिहान ठक्कर दिँदा गाडीमा सवार गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४, बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवालीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका आमा–छोरीलाई उपचारका लागि सल्लेस्थित जिल्ला अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी झविन्द्र परियारले जानकारी दिए ।
दुर्घटनापछि ठक्कर दिने विद्युतीय गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






















प्रतिक्रिया