काठमाडौँ। मायादेवी गाउँपालिका–५, सिहोरहवामा करिब रु १२ करोडको लगानीमा ‘भारद्वाज तेल उद्योग’ सञ्चालनमा आएको छ। स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको उद्योगले ‘राइस ब्रान’ नामको खाने तेल उत्पादन सुरु गरेको हो।
उद्योगका प्रबन्धक ओमशङ्कर उपाध्यायका अनुसार उद्योगमा हाल ८० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। उद्योगले वार्षिक चार हजार ५०० मेट्रिक टन तेल उत्पादन गर्ने लक्ष्य लिएको छ।
उद्योगबाट उत्पादित तेलमा भिटामिन ‘ए’ र ‘डी’ फोर्टिफाइड गरिएको जनाइएको छ। उपाध्यायले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै गुणस्तरीय र उपयोगी खाने तेल उत्पादनलाई प्राथमिकता दिइएको बताए।
‘मानव शरीरका लागि उपयोगी र गुणस्तरीय तेल उत्पादन गर्ने हाम्रो उद्देश्य हो,’ उनले भने।
उद्योगले हाल राइस ब्रान तेल प्रतिलिटर रु ३६५ मा बिक्री गर्दै आएको छ। स्थानीयस्तरमै उत्पादन तथा बिक्री सुरु भएपछि उपभोक्ताले नयाँ विकल्प पाउनुका साथै स्थानीय कृषि तथा औद्योगिक गतिविधिलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
मायादेवी गाउँपालिकाका अध्यक्ष वलीउद्दिन मुसलमानले उद्योग सञ्चालनमा आएसँगै स्थानीयवासीले रोजगारीको अवसर पाएको बताए। उनका अनुसार गाउँपालिकामा उद्योग स्थापना हुनु स्थानीय अर्थतन्त्र चलायमान बनाउन सकारात्मक कदम हो।
उद्योगले आगामी दिनमा उत्पादन क्षमता विस्तार गर्दै रोजगारीका अवसर थप गर्ने लक्ष्यसमेत राखेको जनाएको छ। स्थानीयस्तरमा ठूलो लगानी भित्रिएसँगै कपिलवस्तुको औद्योगिक विकासमा समेत यसले योगदान पुर्याउने अपेक्षा गरिएको छ।






















प्रतिक्रिया