अध्यक्ष यादवद्वारा प्रहरीसमक्ष आत्मसमर्पण, प्रतापपुरमा चासो


बुटवल । सरकारी छाप तथा लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको आरोपमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव प्रहरीसमक्ष उपस्थित भएका छन्।

पक्राउ पुर्जी जारी भएपछि केही समयदेखि प्रहरीको खोजीमा रहेका यादव सोमबार आफैँ जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा उपस्थित भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सोम ढकालका अनुसार यादवमाथि अनुसन्धानका लागि आवश्यक म्याद थपको प्रक्रिया अघि बढाइएको छ।

यादवविरुद्ध पोखरी निर्माणका क्रममा सरकारी कागजात कीर्ते गरेको आरोपमा जाहेरी परेको थियो। सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।

नेपाली कांग्रेसबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा प्रतापपुर गाउँपालिका अध्यक्षमा निर्वाचित यादवका नाममा गत साउन २० गते पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जीविरुद्ध उनी उच्च अदालत पुगे पनि अदालतले अनुसन्धान प्रक्रिया अघि बढाउन बाटो खोलेपछि उनी प्रहरीको खोजीमा थिए।