प्रसाईंको घरमा प्रहरी निगरानीविरुद्ध सर्वोच्चमा रिट


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई घरबाट बाहिर निस्कन नदिएको विषयमा सर्वोच्च अदालतले प्रहरीलाई कारण देखाउ आदेश जारी गरेको छ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सोमबार जिल्ला प्रहरी परिसर भक्तपुरलाई प्रसाईंको घरमा खानतलासीका क्रममा बरामद भएका भनिएका ल्यापटप र मोबाइलसहितका सामान आगामी पेसीमा अदालतमा उपस्थित गराउन आदेश दिएको हो।

प्रहरीले लघुवित्त पीडितको आन्दोलनमा सहभागी भई शान्ति सुरक्षामा असर पार्न सक्ने भन्दै गत साउन ३० गतेदेखि प्रसाईंको भक्तपुरस्थित निवासमा सुरक्षा तैनाथ गरी उनको आवतजावतमा रोक लगाएको थियो।

यसविरुद्ध प्रसाईंकी पत्नी उमा प्रसाईंले भदौ ५ गते बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। रिटमा प्रसाईंको हिँडडुल गर्ने संवैधानिक अधिकार हनन भएको दाबी गरिएको छ।

प्रहरीले भने प्रसाईंलाई नजरबन्दमा नराखिएको दाबी गर्दै सुरक्षा प्रयोजनका लागि क्षेत्रमा ‘सुरक्षा बेस’ राखिएको जनाएको छ। अदालतको आदेशपछि अब प्रहरीले प्रसाईंलाई घरमै रोक्नुको कारणसहित जवाफ पेश गर्नुपर्नेछ।