कांग्रेस विवादमा कुसुम थापाको कडा टिप्पणी : पैसा छ भन्दैमा अदालतका कर्मचारीदेखि श्रीमान्सम्म मिलाएको छु भन्दै नहिँड्नुहोला


काठमाडौं – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य कुसुम थापाले पार्टीभित्रको राजनीतिक विवादलाई अदालत र कानुनी प्रक्रियासँग जोडेर समाधान खोज्ने प्रवृत्तिप्रति आपत्ति जनाएकी छन्। उनले कांग्रेस नेता दीपक खड्कालाई लक्षित गर्दै राजनीतिक लडाइँ राजनीतिक तरिकाले र कानुनी लडाइँ कानुनी प्रक्रियाबाटै लड्नुपर्ने बताएकी हुन्।

थापाले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत खड्कालाई सम्बोधन गर्दै पछिल्लो समय कांग्रेसको आन्तरिक विवाद अदालतसम्म पुगेको प्रसंगमा आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।

उनले लेखेकी छन्, “राजनीतिक लडाइँ राजनीतिक तरिकाले लड्नुपर्छ र कानुनी लडाइँ कानुनी तरिकाले।” राजनीतिक विषयलाई बारम्बार कानुनी प्रक्रियामा लैजाने काम भइरहेको भए पनि आफूहरू त्यसको सामना गर्न तयार रहेको उनको भनाइ छ।

थापाको टिप्पणी कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया र पार्टीको आधिकारिकतालाई लिएर देखिएको विवादसँग जोडिएको देखिन्छ। पछिल्लो समय पूर्वसभापति शेरबहादुर देउवा समूहले महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने प्रक्रिया अघि बढाएको छ। देउवा समूहका तर्फबाट नेता दीपक खड्का सर्वोच्च पुगेका थिए।

कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वको समितिलाई आधिकारिकता दिएको विषयमा पुनः सुनुवाइको आदेशसमेत भइसकेको छ। यही कानुनी विवादलाई आधार बनाएर महाधिवेशनका गतिविधि रोक्न माग गर्दै अदालतको ढोका ढकढक्याइएको देउवा समूहको भनाइ छ।

यही पृष्ठभूमिमा थापाले खड्कामाथि गम्भीर आरोपजस्तो सुनिने दाबीहरू सार्वजनिक रूपमा नगर्न आग्रह गरेकी छन्। उनले खड्काले आफू जेलमा रहेका बेला विपक्षी पक्षले आधिकारिकता पाएको र आफू बाहिर भएको भए त्यतिबेला नै ‘सेटिङ’ मिलाउन सक्ने आशयका अभिव्यक्ति दिएको चर्चा आफूले सुनेको उल्लेख गरेकी छन्।

थापाका अनुसार खड्काले अहिले पनि अदालतमा आफूले सबै कुरा मिलाइसकेको, सम्बन्धित न्यायाधीशहरूलाई भेटेको, आफ्ना मान्छेहरूसँग कुराकानी गरिसकेको तथा ‘स्टे’ आदेश आउने र आधिकारिकता प्राप्त हुनेजस्ता कुरा बताउने गरेको चर्चा छ।

यस्ता अभिव्यक्तिले न्यायालयको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठ्ने भन्दै थापाले आपत्ति जनाएकी छन्। उनले खड्कालाई सम्बोधन गर्दै “पैसा छ भन्दैमा अदालतका कर्मचारीदेखि श्रीमान्सम्म मिलाएको छु भन्दै नहिँड्नुहोला” भन्दै सार्वजनिक रूपमा यस्तो दाबी नगर्न आग्रह गरेकी छन्।

उनले कुनै व्यक्तिले न्यायालयभित्र ‘सेटिङ’ मिलाउन सक्ने भन्ने सन्देश जाने गरी अभिव्यक्ति दिँदा त्यसको प्रत्यक्ष असर आम नागरिकमा पर्ने बताएकी छन्। विशेषगरी न्याय खोज्दै अदालत जाने सामान्य नागरिकको न्यायालयप्रतिको विश्वास कमजोर हुने उनको चिन्ता छ।

“तपाईंको कारणले सोझा मान्छेकै न्यायालयप्रतिको विश्वसनीयता घट्छ। न्यायालयको गरिमा जोगाउने जिम्मा तपाईं–हामी सबैको हो,” थापाले लेखेकी छन्।

कांग्रेसभित्र महाधिवेशनको विषयलाई लिएर संस्थापन र देउवा पक्षबीचको विवाद अहिले अदालतसम्म पुगेको अवस्थामा थापाको यो टिप्पणीलाई अर्थपूर्ण रूपमा हेरिएको छ। पार्टीको आन्तरिक राजनीतिक विवाद कानुनी मोडमा पुगेपछि कांग्रेस नेताहरूबीच आरोप–प्रत्यारोपसमेत तीव्र बन्दै गएको छ।

थापाले भने आफ्नो टिप्पणीमा आफूहरू राजनीतिक तथा कानुनी दुवै प्रक्रियाको सामना गर्न तयार रहेको संकेत गरेकी छन्। उनले व्यक्तिगत आरोप–प्रत्यारोपभन्दा संस्थागत मर्यादा र न्यायालयको गरिमा महत्वपूर्ण रहेको सन्देश दिएकी छन्।

अन्त्यमा उनले खड्कालाई पुनः आग्रह गर्दै न्यायालयको गरिमा र जनविश्वास जोगाउने जिम्मेवारी कांग्रेसका सबै नेता–कार्यकर्ताको समान रहेको बताएकी छन्।

“जय नेपाल !” भन्दै थापाले आफ्नो धारणा टुंग्याएकी छन्।