उपसभामुख चापागाईंको राजनीतिक पहिचानमा प्रश्न, स्वतन्त्र कि एमाले?


काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने प्रक्रिया पेचिलो बन्दै जाँदा प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंको भूमिकामाथि विपक्षी दलहरूले प्रश्न उठाएका छन् ।

सभामुख पद रिक्त रहेको अवस्थामा प्रदेशसभा सञ्चालनको जिम्मेवारी सम्हालेकी चापागाईंले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको विपक्षी दलहरूको आरोप छ । बैठक पटक–पटक सारिएको र सरकारको अनुकूलतामा समय निर्धारण गरिएको भन्दै उनीहरूले उपसभामुखको तटस्थतामाथि शंका गरेका हुन् ।

नेपाली कांग्रेसका मुख्य सचेतक पुकार महर्जनले उपसभामुखले स्वतन्त्र हैसियत गुमाउँदै सरकारको ‘रबर स्ट्याम्प’ बन्न खोजेको आरोप लगाए । राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले पनि कारबाहीमा परेका सांसदको पदमुक्ति प्रक्रिया अघि नबढाएर सत्ता गठबन्धन जोगाउन खोजेको आरोप लगाइन् ।

नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले उपसभामुखलाई एमालेको प्रवक्ता बन्ने भए राजीनामा दिएर प्रवक्ता बन्न’ चुनौती दिए ।

तर उपसभामुख चापागाईंले आफूले प्रदेशसभा नियमावलीअनुसार नै काम गरिरहेको र आफ्नो भूमिकामाथि शंका गर्नुपर्ने कुनै कारण नरहेको बताएकी छन् । उनले सबै दलसँग छलफल गरेर सहमतिमै संसद्को प्रक्रिया अघि बढाइएको दाबी गरिन् ।

प्रदेशसभा सचिवालयले पनि बैठकको मिति र समय परिवर्तन गर्ने अधिकार नेतृत्वसँग रहेको भन्दै विश्वासको मतसम्बन्धी प्रक्रिया संविधान र नियमावलीअनुसार नै भइरहेको स्पष्ट पारेको छ ।