सुनिल पौडेलको मुद्दामा काठमाडौँ अदालतको नयाँ आदेश


काठमाडौं । काठमाडौं जिल्ला अदालतले लिखतसम्बन्धी कसुरमा आरोपित सुनिल पौडेलको मुद्दामा विशेष अदालतबाट भएको फैसलाको प्रमाणित प्रतिलिपि मगाउन आदेश दिएको छ।

जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले मंगलबार विशेष अदालतको फैसलाको प्रमाणित प्रतिलिपि झिकाउन आदेश दिएको हो। प्रतिलिपि प्राप्त भएपछि पौडेललाई बयानका लागि कारागारबाट झिकाएर अदालतमा पेस गर्न आदेशमा भनिएको छ।

पौडेलले आफ्नो भ्रष्टाचार मुद्दा र हालको लिखतसम्बन्धी मुद्दा आपसमा सम्बन्धित रहेको भन्दै विशेष अदालतको फैसलाको पूर्णपाठ नआएसम्म हालको कारबाही रोक्न माग गरेका थिए। सोही निवेदनका आधारमा अदालतले फैसला मगाउने आदेश दिएको हो।

विशेष अदालतले असार ३० गते पौडेलको भ्रष्टाचार मुद्दामा फैसला सुनाएको थियो। हाल जिल्ला अदालतमा भने उनले आफ्नो स्थायी लेखा नम्बर (प्यान) कीर्ते गरेको आरोपसम्बन्धी मुद्दा विचाराधीन छ।