टिमुरेमा विपत्ति : बस्ती ध्वस्त, ३ सय जना उद्धारको पर्खाइमा


काठमाडौं । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढीले बस्ती र बजार तहसनहस बनाएपछि ३ सयभन्दा बढी स्थानीय उद्धारको पर्खाइमा रहेका छन्।

वडा सदस्य पेमा दोर्जे घलेका अनुसार टिमुरेमा बाढीले ठूलो क्षति पुर्‍याएको छ। बस्ती र बजारको अवस्था पूर्ण रूपमा ध्वस्त भएकाले कहाँ कति जनधनको क्षति भयो भन्ने यकिन गर्नसमेत कठिन रहेको उनले बताए।

‘यहाँ खाना र लुगा केही छैन। हेलिकप्टर वा अन्य माध्यमबाट भए पनि तत्काल उद्धारको पहल गर्नुपर्छ,’ घलेले भने, ‘बिहानै अलि उचाइको समथर ठाउँमा पुगेकाहरू बाँचेका छन्।’

उनले टिमुरेमा फसेका ३ सयभन्दा बढी स्थानीयलाई तत्काल उद्धार र राहत आवश्यक रहेको बताए।