बाढीपीडितको उपचारमा स्वास्थ्य टोली परिचालन, काठमाडौंका अस्पताल तयारी अवस्थामा


काठमाडौं । भोटेकोसीमा आएको भीषण बाढीपछि उद्धार तथा घाइतेको उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संयन्त्रलाई पूर्ण रूपमा सक्रिय बनाएको छ।

मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र सक्रिय गर्दै प्रभावित क्षेत्रमा आपत्कालीन स्वास्थ्य सेवा पुर्‍याउन राष्ट्रिय ट्रमा सेन्टरका ६ चिकित्सकसहितको इमर्जेन्सी मेडिकल टिम गठन गरेको छ। टोलीलाई रसुवा पठाउने तयारी भइरहेको छ।

उद्धार गरिएका दुई घाइतेको धुन्चेस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ। त्रिशूली र धादिङका अस्पताललाई समेत तयारी अवस्थामा राखिएको छ।

सम्भावित घाइतेको उपचारका लागि वीर, टिचिङ, सिभिल, राष्ट्रिय ट्रमा सेन्टर र पाटन अस्पतालका आकस्मिक विभागलाई उच्च सतर्क अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ। साथै अन्य हब, निजी तथा मेडिकल कलेज अस्पताललाई पनि स्ट्यान्डबाइमा राखिएको छ।