चीनले दियो सूचना : नदी थुनिएको स्थानमा अझै ताल पूरा खुलेन, जोखिम कायमै


काठमाडौं – रसुवामा आएको भीषण बाढीपछि चीनतर्फ नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेको सूचना प्राप्त भएको छ । ताल पूर्ण रूपमा नखुलेका कारण तल्लो तटीय क्षेत्रमा थप बाढीको जोखिम कायमै रहेको जनाइएको छ ।

चीनतर्फबाट आएको आकस्मिक ठूलो बाढीका कारण रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान असामान्य बहाव देखिएको थियो । त्यसपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनसम्मका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रारम्भिक विवरणअनुसार तिब्बत क्षेत्रमा हिउँपहिरो वा पहिरोका कारण नदी थुनिएर बनेको अस्थायी ताल अचानक खुल्दा बाढी आएको हुनसक्ने अनुमान गरिएको छ । बाढीको वास्तविक कारणबारे थप अध्ययन भइरहेको छ ।

नदी थुनिएको स्थानमा पानीको ठूलो मात्रा अझै जम्मा रहेको अवस्थामा ताल पूर्ण रूपमा नखुल्दा त्यसबाट थप पानी एक्कासि तलतर्फ आउन सक्ने जोखिम रहेको भन्दै नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी हुँदै आएको बाढी धादिङको गल्छी आसपास पुगेको र आगामी केही घण्टामा मुग्लिनतर्फ जाने क्रममा रहेको जनाएको छ । त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन र सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

यसैबीच, रसुवामा बाढीबाट ठूलो क्षति भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धार तथा खोजी कार्यमा परिचालित भएका छन् । प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई तीव्र बनाइएको छ ।