बाढीपीडितका लागि रास्वपाले ५० लाख दिने, सबै कार्यक्रम स्थगित


काठमाडौँ । चीनको तिब्बततर्फबाट भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

पार्टी सचिवालयको बैठकले उक्त रकम सरकारको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो । बाढी–पहिरोका कारण उत्पन्न विपद्लाई मध्यनजर गर्दै रास्वपाले आफ्ना सबै पूर्वनिर्धारित राजनीतिक तथा सांगठनिक कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ ।

रास्वपाले पूर्वर्‍याट संयोजक आशिष थापाको नेतृत्वमा देशभरका कार्यकर्तालाई उद्धार तथा राहतमा सक्रिय हुन निर्देशन दिएको छ ।

महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमार्फत बेपत्ताको खोजी तीव्र बनाउन, घाइतेको निःशुल्क उपचार गर्न र प्रभावित परिवारको दीर्घकालीन पुनःस्थापनाको योजना ल्याउन सरकारसँग माग गरिएको छ ।

साथै, विपद्को समयमा आधिकारिक सूचनामा मात्र विश्वास गर्न र अफवाहको पछि नलाग्न रास्वपाले नागरिकलाई आग्रह गरेको छ।