यातायात अवरुद्ध हुँदा घाइते अस्पताल ल्याउन कठिन


काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार गरी त्रिशूली अस्पताल ल्याइएका घाइतेको उपचार जारी छ । बाढीले सडक र पुलमा क्षति पुर्‍याएपछि घाइतेलाई अस्पतालसम्म ल्याउन भने कठिन भएको चिकित्सकले बताएका छन् ।

त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामाका अनुसार बुधबार १६ जना घाइते उपचारका लागि आएका थिए । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले अस्पतालमै भर्ना गरी उपचार भइरहेको छ ।

बिहीबार उद्धार गरी ल्याइएका २१ वर्षीय पुरुषको अवस्था पनि गम्भीर रहेको र उनको सिटी स्क्यानसहित उपचार भइरहेको डा. लामाले बताए ।

उनका अनुसार सडक तथा पुलको सम्पर्क टुटेकाले बाढी प्रभावित क्षेत्रबाट घाइतेलाई सवारीसाधनमार्फत अस्पताल ल्याउन मुख्य समस्या भइरहेको छ ।