बेपत्ता पत्रकार र उनीहरूको परिवारको तत्काल खोजी गर्न महासंघको माग


काठमाडौं । नेपाल पत्रकार महासंघले रसुवा बाढीका कारण सम्पर्कविहीन पत्रकार तथा पत्रकारका परिवारको तत्काल खोजी गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिअनुसार समाचार संकलनका लागि केरुङ हुँदै तिब्बत गएका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी केरुङबाट सम्पर्कविहीन छन् । त्यस्तै, नुवाकोटको विदुर–७ बाट पत्रकार निराजन पौडेलका परिवारका पाँच सदस्य पनि सम्पर्कविहीन रहेको जनाइएको छ ।

महासंघले उनीहरूको खोजी र उद्धारलाई तीव्रता दिन आग्रह गर्दै बाढी प्रभावित क्षेत्रमा अवरुद्ध सञ्चार सेवा तत्काल सञ्चालन गर्न पनि माग गरेको छ ।