काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट उत्पन्न राष्ट्रिय संकट, राहत तथा उद्धारका विषयमा मुख्यसचिवसहित विषयगत मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल गर्नुभएको छ।
नुवाकोटको विदुर क्षेत्रमा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएलगत्तै प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय बैठक बोलाउनुभएको हो।
बैठकमा रक्षा, गृह, अर्थ, परराष्ट्र, ऊर्जा, स्वास्थ्य तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलगायत विपद् व्यवस्थापन, राहत तथा उद्धारसँग प्रत्यक्ष जोडिएका अधिकारीहरूको सहभागिता रहेको छ।
बैठकमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन, घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचार सुनिश्चित गर्न र विस्थापित परिवारलाई तत्काल आवश्यक राहत सामग्री पुर्याउन निर्देशन दिनुभएको छ।
उहाँले विस्थापित नागरिकका लागि सञ्चालन गरिएका राहत क्याम्पहरू व्यवस्थित, स्वच्छ र सुरक्षित हुनुपर्नेमा जोड दिनुभएको छ। क्याम्पमा व्यक्तिगत गोपनीयता कायम गर्न तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई उचित सम्मान, सुरक्षा र विशेष प्राथमिकता दिन पनि प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ।
त्यस्तै, बाढीका कारण क्षतिग्रस्त सडक, विद्युत् तथा सञ्चार संरचना यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालयलाई एकीकृत कार्ययोजनासहित प्रभावकारी रूपमा काम गर्न प्रधानमन्त्री शाहले निर्देशन दिनुभएको छ।























प्रतिक्रिया