बाढीपीडितको राहत र पुनःस्थापनाका लागि आइएमई लाइफको १ करोड सहयोग


काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

भदौ १० गते आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको घटनाप्रति कम्पनीले गहिरो दुःख व्यक्त गरेको छ।

बाढी र डुबानका कारण नागरिकको ज्यान गएको, कैयौँ बेपत्ता भएको तथा बस्ती र पूर्वाधारमा ठूलो क्षति पुग्दा सयौँ परिवार विस्थापित हुनुपरेको भन्दै कम्पनीले प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गरेको छ।

विपद् प्रभावितको तत्काल उद्धार तथा राहत र दीर्घकालीन पुनःस्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय तथा स्थानीय संघसंस्थाले गरिरहेका प्रयासमा ऐक्यबद्धता जनाउँदै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’मा १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको हो।

कम्पनीका अनुसार उक्त सहयोगले बाढी प्रभावितको खोज तथा उद्धार, खाद्यान्न वितरण, स्वास्थ्य उपचार तथा पुनःस्थापनाका कार्यमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आइएमई लाइफ इन्स्योरेन्सले स्थापनाकालदेखि नै विभिन्न संकट, प्राकृतिक विपद् तथा महामारीका समयमा सहयोग गर्दै आएको जनाएको छ। हालको विपद्मा पनि प्रभावित नागरिकको साथमा उभिने प्रतिबद्धता कम्पनीले जनाएको छ।

कम्पनीले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ताको शीघ्र खोजी तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति सम्मान र आभार व्यक्त गरेको छ।