नुवाकोट पुगेर फर्किएपछि प्रधानमन्त्री शाहले भने– ‘सरकार प्रभावित नागरिकसँगै छ’


काठमाडौं । प्रधानमन्त्री भालेन्द्र शाहले बाढीपहिरो प्रभावित नुवाकोटको स्थलगत निरीक्षण गरी काठमाडौं फर्किएपछि सरकारले उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका कामलाई उच्च प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभएको छ।

प्रधानमन्त्री शाहले प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार र राहतमा खटिएका टोलीसँग प्रत्यक्ष जानकारी लिएको उल्लेख गर्दै अवस्था अझै चुनौतीपूर्ण रहेको बताउनुभएको छ।

उहाँका अनुसार खोजी तथा उद्धारलाई प्राथमिकता दिँदै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरी १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ। हवाई तथा स्थलमार्गबाट उद्धार जारी रहेको र आज मात्रै ६९ वटा हवाई उडानमार्फत ३५१ जनाको उद्धार गरिएको उहाँले जानकारी दिनुभएको छ।

प्रभावित क्षेत्रमा करिब ३ हजार ५०० जनाका लागि विद्यालय तथा सार्वजनिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको, रसुवा, नुवाकोट र धादिङमा तत्काल राहतका लागि रकम परिचालन गरिएको तथा खाद्यान्नसहितका राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको प्रधानमन्त्री शाहले बताउनुभएको छ।

स्वास्थ्यतर्फ वीर अस्पताल, ट्रमा सेन्टर, शिक्षण अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल तथा प्रहरी अस्पताललाई तयारी अवस्थामा राखिएको छ। घाइते तथा प्रभावित नागरिकको निःशुल्क उपचार सुनिश्चित गरिएको र आवश्यक मेडिकल टोली, औषधि, एम्बुलेन्स तथा रक्तसञ्चार सेवा परिचालन गरिएको उहाँले जानकारी दिनुभएको छ।

त्यस्तै, बाढीका कारण प्रभावित दूरसञ्चार सेवा पुनःस्थापनाका लागि प्राविधिक टोली, जेनेरेटर तथा ब्याट्री परिचालन गरिएको छ। सडक, पुल, खानेपानी, विद्युत् तथा दूरसञ्चारलगायत अत्यावश्यक पूर्वाधारको पुनःसञ्चालनलाई समेत उच्च प्राथमिकता दिइएको प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्री शाहले भोटेकोशी तथा त्रिशूली नदीको बहाव, सम्भावित पहिरो तथा अन्य जोखिमको निरन्तर निगरानी भइरहेको भन्दै जोखिमयुक्त नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गर्नुभएको छ।

उहाँले विपद्को यस कठिन घडीमा संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था, रेडक्रस, स्वयंसेवी संस्था तथा विकास साझेदारबीच निरन्तर समन्वय भइरहेको बताउनुभएको छ।

प्रधानमन्त्री शाहले भन्नुभएको छ, “सरकारको अबको सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई तत्काल राहत र सुरक्षित बसोबास तथा क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुनःस्थापनामा केन्द्रित छ।”

उहाँले उद्धार तथा राहत कार्यका लागि आवश्यक स्रोत र साधनको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभएको छ, “हामी अहिले पनि काममै छौँ। यो संकटको घडीमा सरकार प्रभावित नागरिकसँगै छ। उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्।”