रसुवा भोटेकोशी बाढी : ३८९ जनाको शव फेला, ४६६ जना घाइते तथा उद्धार


काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको छ। नेपाल प्रहरीले भदौ ११ गते राति ९ बजेसम्मको अवस्थाबारे सार्वजनिक गरेको विवरणअनुसार बाढी तथा पहिरोमा परी ३८९ जनाको शव फेला परेको छ भने ४६६ जना घाइते तथा उद्धार गरिएको छ।

विवरणअनुसार रसुवामा १६, धादिङमा ३३, गोरखामा ३२, नुवाकोटमा २८, चितवनमा १३७, तनहुँमा २८, काठमाडौं उपत्यका पूर्वमा ८७ र काठमाडौं उपत्यका पश्चिममा २७ जनाको शव फेला परेको छ।

यस्तै, उद्धार तथा घाइतेको विवरणमा रसुवामा २६९, नुवाकोटमा ९०, धादिङमा ३ र काठमाडौंमा ८४ जना रहेको उल्लेख छ।

बाढीपछि ४ हजार ३८५ जना प्रहरी प्रभावित क्षेत्रमा परिचालित छन्। साथै, हालसम्म सम्पर्कविहीन रहेका २८ जना प्रहरी कर्मचारीको खोजी तथा अवस्था पहिचान गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय संयन्त्र परिचालन गरी खोज, उद्धार, राहत र व्यवस्थापनका कामलाई निरन्तरता दिइएको छ।