चीनतर्फ थुनिएको ताल फुट्यो, रसुवावासीलाई सीडीओको आपत्कालीन आग्रह – ‘सुरक्षित रहनुस्’


काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक बनेको ठूलो ताल फुटेको जानकारी आएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चिनियाँ पक्षले उक्त ताल फुटेको जानकारी गराएको हो। ताल फुटेसँगै नदीमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै रसुवाको नदी तटीय क्षेत्रमा सतर्कता अपनाइएको छ।

प्रमुख जिल्ला अधिकारी परियारले चिनियाँ पक्षबाट ताल फुटेको सूचना आएपछि नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरिएको जानकारी दिए।उनका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले सम्बन्धित निकाय तथा स्थानीय तहलाई समेत सतर्क गराइसकेको छ।

नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन र प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ।ताल फुटेपछि त्यसको प्रभाव रसुवातर्फ कति पर्न सक्छ भन्ने विषयमा समेत प्रशासनले निगरानी गरिरहेको जनाएको छ।