त्रिवि शिक्षण अस्पतालबाट २५ जना बाढीपीडित डिस्चार्ज


काठमाडौँ । भीषण बाढी–पहिरोमा परी घाइते भएर त्रिवि शिक्षण अस्पतालमा उपचाररत २५ जना निको भएर डिस्चार्ज भएका छन्।

अस्पतालका अनुसार बाढी–पहिरोपछि ५६ जना घाइते उपचारका लागि भर्ना भएका थिए। तीमध्ये २५ जना घर फर्किएका छन् भने उपचारका क्रममा २५ वर्षीय कुशल मगरको मृत्यु भएको छ। हाल २८ जना घाइतेको आईसीयू, भेन्टिलेटर, अब्जर्भेसन तथा विभिन्न सर्जिकल वार्डमा उपचार भइरहेको छ।

उपचाररतमा रसुवा, नुवाकोट, गोरखा र धादिङका बालबालिकादेखि वृद्धवृद्धासम्म छन्। अस्पतालले अधिकांश घाइतेको स्वास्थ्यमा सुधार भइरहेको जनाएको छ।

यस्तै, अस्पतालमा बाढी–पहिरोमा मृत्यु भएकामध्ये २६ जनाको शव राखिएको छ। तीमध्ये चार जनाको मात्र पहिचान खुलेको छ।